आजदेखि सर्वसाधरणलाई इन्टरनेट महँगियो


काठमाडौ, १ साउन । साउन १ अर्थात आजदेखि सर्वसाधरणका लागि इन्टरनेट सेवा महँगो भएको छ । सरकारले दूरसञ्चार सेवा दस्तुर शीर्षकमा पहिलो पटक इन्टरनेटलाई पनि समेटेपछि यो सेवा महँगो भएको हो । इन्टरनेटका ग्राहकले अबदेखि सरकारलाई तिरिरहेको रकमभन्दा १३ प्रतिशत बढी दस्तुर बुझाउनुपर्नेछ । सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १३ प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुर बापत असुल उपर गर्नुपर्ने उल्लेख छ । यस व्यवस्थाअनुसार भ्वाइस र इन्टरनेटमा १३ प्रतिशत दस्तुर आफ्ना सेवाग्राहीसँग असुल गर्नेछन । यो व्यवस्थाका कारण सेवाग्राहीले अबदेखि मंहगो दस्तुर तितेर मात्र सेवा लिन सक्नेछन । सामाजिक सञ्जाल प्रयोगकर्ता बढिरहेका बेला सरकारको यो व्यवस्था लागू गरेपछि सेवाग्राही मारमा परेका छन ।
यसैबीच आजैदेखि लागू हुनेगरि सामुदायिक विद्यालय र स्वास्थ्य चौकीहरुमा इन्टरनेट सेवा निशुल्क हुने भएको छ । सुचना प्रविधि तथा सञ्चार मन्त्रालयको कार्ययोजनामा सामुदायिक विद्यालय र स्वास्थ्य चौकीहरुमा इन्टरनेट सेवा निशुल्क गर्ने उल्लेख भएअनुसार आजदेखि निशुल्क हुने भएको हो । एक वर्षेदेखि ५ वर्षे कार्यायोजना अन्तर्गत प्रधानमन्त्री कार्यालयमा मन्त्रालयका सचिवले कार्यायोजना बुझाईसकेका छन । सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकले निशुल्क इन्टरनेट सेवा लिने भएपछि पठनपाठनमा सहयोग पुग्नेछ । मंहगा निजी विद्यालयले शुल्क तिरेरै विद्यार्थीलाई इन्टरनेट सेवा उपलब्ध गराएपनि सामुदायिकमा भने पहिलो पटक निशुल्क बनाउने सरकारले थालनी गरेको हो । यसबाट विद्यार्थीले विभिन्न सुचना तथा ज्ञानका कुरा सजिलै प्राप्त गर्न सक्नेछन ।
यस्तै स्वास्थ्य चौकीहरुमा पनि निशुल्क इन्टरनेट हुनेभएपछि सेवाग्राही र स्वास्थ्यकर्मीलाई फाइदा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्