नेकपाद्धारा कानुनमन्त्रीलाई राजीनामा दिन निर्देशन


काठमाडौ, ८ साउन । कानुनमन्त्री शेर बहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिने भएका छन । नेकपाले मन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएपछि कानुनमन्त्री तामाङले राजीनामा दिन लागेका हुन ।  उनले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।
यसको सर्वत्र आलोचना भएको छ । सत्तारुढ नेकपाकै नेताहरुले समेत आलोचना गरे ।
मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागे । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।
डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानुनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेका थिए ।
बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्