नेकपाले यसरी बनाउँदैछ एक हजारको राष्ट्रिय प्रतिनिधि परिषद्


काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले कम्तीमा एक हजार जनाको राष्ट्रिय प्रतिनिधि परिषद् गठन गर्ने भएको छ । पार्टी विधानको धारा २४ मा व्यबस्थाअनुसार नेकपाले कम्तीमा एक हजार जना रहेको राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने निश्चित भएको हो ।
विधानमा परिषद्मा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु रहने व्यबस्था छ । यसअनुसार नेकपाका ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सबै स्वत परिषद् सदस्य हुनेछन् ।
त्यस्तै, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरु, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्यहरु पनि प्रतिनिधि परिषद् सदस्य हुनेछन् । नेकपाको विधान अनुसार यी सबै कमिटी बनिसक्दा कम्तीमा साँढे ३ सयदेखि ४ सय जना प्रतिनिधि परिषद् सदस्य थपिनेछन् ।
त्यस्तै, जिल्ला कमिटीका अध्यक्षहरु, केन्द्रीय विभागका सचिवहरु र जनवर्गीय संगठनका अध्यक्षहरु पदेन सदस्य रहने विधान बनेकाले कम्तीमा १ सय ३० जना प्रतिनिधि परिषद् सदस्य हुनेछन् । सबै पदेन सदस्य संख्यामध्येबाट २५ प्रतिशत केन्द्रीय कमिटीबाट मनोनित हुने विधानको व्यबस्थाअनुसार नेकपाको राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य संख्या कम्तीमा एक हजार हुने नेकपाका एक स्थायी समिति सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्