अमेरिकामा १८ नेपाली सहित ८० दक्षिण एसियाली नागरिक पक्राउ, पक्राउ परेकालाई कानुनी अधिकारबाट बञ्चित गरेको खुलासा


काठमाडौ, ६ असार । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली पक्राउ परेका छन । पक्राउ परेका १८ नेपालीसहित अन्यलाई ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्।
मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ।
त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जानकारी दिएको छ।
सो संस्थाले इनोभेसन ल ल्याब नामक अर्को संस्थासँग मिलेर थुनामा राखिएका आप्रवासीहरूलाई सहायता गर्ने प्रयास गरिरहेको बताएको छ।
एउटा प्रेस विज्ञप्तिमा एसियन प्यासिफिक नेटवर्क अफ ओरेगनले भनेको छ, पक्राउ गरिएकाहरूलाई एक्लाएक्लै राखिएको छ र कानूनी अधिकारबाट उनीहरूलाई वञ्चित गरिएको छ।
उसका अनुसार उनीहरूलाई अनुवादकसँग सीमित पहुँच दिइएको छ र अहिलेको व्यवस्था अनुसार उनीहरूमाथि दुर्व्यवहार हुन सक्ने अवस्था छ।
चार दिनअघि अमेरिकी सांसदहरूको एउटा प्रतिनिधिमण्डलले उक्त कारागारको भ्रमण गरेको थियो। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्