महासमितिको बैठक बोलाउँदै कांग्रेस


काठमाडौं, १७ असार । नेपाली कांग्रेसले पार्टीको महासमिति बैठक बोलाउने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइरालालगायतका नेताहरुसँग परामर्श गरेर छिट्टै महासमितिको बैठक बोलाउने तयारी गरेका हुन् ।
‘आगामी भदौको अन्तिम साता या असोजको पहिलो साता मिति घोषणा गर्ने तयारी भइरहेको छ’, देउवा निकट एक नेताले पहिलो न्यूजसँग भने,‘केही दिनभित्रै सभापतिज्यूले महासमिति बैठकको मिति घोषणा गर्नुहुनेछ ।’ ती नेताका अनुसार मौसमको अनुकूलतासमेतलाई मध्येनजर गर्दै सभापति देउवाले रुपन्देहीको भैरहवा या काठमाडौंमा बैठक डाक्नेछन् ।
कांग्रेसले गत ८ गते हेटौडामा जिल्ला सभापतिको भेला सम्पन्न गरेको थियो । उक्त भेलाले पारित गरेको प्रस्तावलाईसमेत मध्येनजर गर्दै महासमिति बैठकबाट विधान संशोधनलगायतको महत्वपूर्ण काम सम्पन्न गर्ने कांग्रेसको तयारी छ । विधान संशोधन नहुँदा कांग्रेसले संघीय संरचनाअनुसार सातओटै प्रदेशमा कमिटीहरुसमेत गठन गर्न सकेको छैन । सांगठनिक रुपमा पार्टी अस्तब्यस्त भएको भन्दै युवा नेताहरु गगन थापा, गुरुराज घिमिरे, प्रदिप पौडेललगायतले पार्टीलाई गति नदिए नेतृत्व छाड्न दबाब दिँदै आएका छन् । तर, सभापति देउवाले भने महासमिति बैठकबाट आफू अनुकूल विधान संशोधन गर्न अहिल्यैदेखि गृहकार्य थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्