कम्युनिष्ट सरकारबारे यस्तो छ कांग्रेसको पछिल्लो विश्लेषण


काठमाडौ, १० असार । नेपाली कांग्रेसले कम्युनिष्ट सरकार सर्वसत्तावादतिर उन्मुख भएको निस्कर्ष निकाल्दै यसको दृढतापूवर्कक देशभर प्रतिवाद गर्ने बताएको छ । हेटौंडामा भएको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले १९ बुदे हेटौंडा घोषणा पत्र जारी गर्दै यस्तो निष्कर्ष निकालेका हुन । घोषणापत्रमा भनिएको छ– ‘‘ कम्युनिष्ट सरकारबाट संचार जगतमा थालिएको निशेध र नियन्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रधावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न, राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आतंक, ट्रेड युनियन अधिकार खोस्ने प्रपन्च, पेशागत सामाजिक एवं गैरसरकारी संघसंस्थामाथिको नियन्त्रणकारी रवैया, मौलाउदै गएको दण्डहिनता आदिबाट वर्तमान सरकार सर्वसत्तावाद उन्मुख रहेको प्रष्टछ ।” नेपाली कांग्रेसले हेटौंडा घोषणापत्रमा लोकतान्त्रिक गणतन्त्र, संघीयता, प्रेस स्वतन्त्रता लगायत लोकतन्त्रका स्थापित मुल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने बताएको छ । कम्युनिष्ट सरकार बनेपछि चर्को मुल्यबृद्धिको उपहार दिएको कांग्रेसले आरोप लगाएको छ । विगतमा कांग्रेस सरकारमा हुँदा गरेको राम्रो कामलाई वर्तमान सरकारले उल्ट्याएको भन्दै अविलम्ब ती कार्यक्रमलाई निरन्तरता दिन हेटौडा भेलाले माग गरेको छ । हेटौंडा घोषणापत्रको १४ नम्बर बुँदामा भनिएको छ ‘‘ कांग्रेस सरकारले भुकम्प पीडितलाई १ लाख प्रदान गर्ने, क्यान्सर, मृगौला, स्पाइनर इन्जुरी, जस्ता गम्भिर प्रकारका रोगीहरुलाई जीविकोपार्जन भत्ता स्वरुप मासिक रु ५ हजार उपलब्ध गराउने, ६५ वर्ष उमेर पुगेकालाई जेष्ठ नागरिक भत्ता उपलब्ध गराउने जस्ता विगतका जनहितकारी निर्णयलाई उल्ट्याउनुले यो सरकारको सामाजिक सुरक्षाप्रतिको संवेदनहितालाई उदांगो पारेको छ । अबिलम्ब यी कार्यक्रमलाई निरन्तरता दिन यो भेलाले जोडदार माग गर्दछ ।” कांग्रेसले तत्कालिन एमालेको नक्कली राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको समेत आरोप लगाएको छ । यस्तै कांग्रेसले प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरुको भेला बोलाउनुपर्ने निस्कर्ष निकालेको छ । जसले विभिन्न चुनौतीको सामाना गर्न सजिलो हुने बताइएको छ ।
पचहत्तर साल कांग्रेसको प्रशिक्षण वर्ष, गाउँसम्म अभियान चलाउने
यसैबीच भेलाले विगतको निर्वाचन परिणामबारे गम्भिर हुँदै जिल्ला सभापतिहरुको भेलाले तमाम चुनौतीहरुको सामाना गर्न एकताबद्ध भएर शसक्त ढंगबाट अघि बढ्ने जनाएको छ । पचहत्तर साल कांग्रेसको प्रशिक्षण वर्ष भएकाले आवस्यक प्याकेज तर्जुमा गरि गाउँस्तर सम्म पुरयाउने बताएको छ । पत्रमा भनिएको छ ”केन्द्रिय समितिको बैठकले राष्ट्रिय जागरण अभियान प्रारम्भ गर्ने निर्णय गरे अनुरुप आवस्यक प्याकेज तर्जुमा गरि अबिलम्ब राष्ट्रव्यापी रुपमा संचालन गर्न तथा यो वर्षलाई प्रशिक्षण वर्षको रुपमा अघि बढाउन पार्टी केन्द्रलाई यो भेला अनुरोध गर्दछ ।”
यस्तै सभापतिहरुको भेलाले जिल्ला सभापतिको प्रतिनिधि हुनेगरि छिटो विधान मस्योदा समिति गठन गर्नुपर्ने तथा महासमितिको बेठकको स्थान र मिति छिटो तोक्न आग्रह गरेको छ । पार्टीभित्रका समस्यालाई पारस्पारिक एकता र सहकार्यका साथ अघि बढ्न संगठनलाई जिल्ला सभापतिहरुले अनुरोध गरेका छन । विभिन्न भातृ संस्थाहरुको अधिवेसन गरेर सदस्यहरुलाई क्रियाशिल बनाउनुपर्ने घोषणापत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्