बागलुङमा पहिरोले घर पुरिदा ६ महिने शिशु सहित तीनको ज्यान गयो


बागलुङ, १२ असार । बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको ज्यान गएको छ । गएराति परेको अविरल वर्षापछि बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी ३० वर्षीया श्रीमती विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनियाको ज्यान गएको प्रहरीले जनाएको छ ।
घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा पुरिएर उनीहरुको ज्यान गएको हो । पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए । इलाका प्रहरी कार्यालय, बरेङको प्रहरी टोली र स्थानीयवासी बिहानैदेखि उद्धारमा खटिएका थिए । घरसँगै गोठ पनि पहिरोले बगाएको जनाइएको छ । मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा बाहिर रहेको बुझिएको छ ।
रातभर परेको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि ठूलो भौतिक क्षति पु¥याएको छ । बरेङ गाउँपालिकाका–२ हुग्दीशिरको ब्राहकोट प्रावि पहिरोले क्षतिग्रस्त बनेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्