नेकपा अध्यक्ष प्रचण्ड आज सिंगापुरबाट फर्कदै, सीता दाहालको स्वास्थ्यमा सुधार


काठमाडौ, १७ असार । नेकपाका अध्यक्ष प्रचण्ड आइतवार सिंगापुरबाट नेपाल फर्किने भएका छन । पत्नी सीता दाहालको उपचारका लागि दुई हप्ता अघि सिंगापुर गएका उनी आज स्वेदश फर्किन लागेका हुन । प्रचण्ड असार ३ मा पत्नी सीताको उपचारका लागि सिंगापुर गएका थिए ।

सीताको स्वास्थ्यमा सुधार भएकाले आज नै प्रचण्ड नेपाल फर्किन लागेको उनको सचिवालयले जनाएको छ । वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पारिवारिक स्रोतले बताएको छ ।

चिकित्सकको सल्लाहले सीताको थप उपचारका लागि प्रचण्ड सिंगापुर गएका थिए । चिकित्सकले सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा एकपटक स्वास्थ्य परिक्षण गराउन सुझाव दिएका थिए ।

केही दिन सिंगापुरमा रहने भनिएपनि प्रचण्डको बसाई लम्बिएको थियो । यसअघि प्रचण्ड ८ असारमा फर्किने बताइएको थियो । यस अघि सीताको उपचार केही महिना अगाडि दिल्लीमा भएको थियो । पछिल्लो समय सीताको आँखामा पनि समस्या देखिएको थियो । कलेजोको समस्याबाट पीडित सीताको यसअघि पनि सिंगापुरमै उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्