सरकारविरुद्ध तरुणलाई सडकमा उतार्दै कांग्रेस, जिल्लाहरुबाट पनि तरुण–युवा काठमाडौं आउँदै


काठमाडौ, ११ असार । नेपाली कांग्रेसले हेटौंडामा सभापतिहरुको राष्ट्रिय भेला सम्पन्न गरेलगत्तै युवा भातृ संगठन तरुण दललाई सरकारबिरुद्ध सडकमा उतार्ने तयारी गरेको छ । तरुण दलले बुधबार अपरान्ह् रत्नपार्कमा सरकारबिरुद्ध प्रदर्शन र बिरोधसभा आयोजना गर्न लागेको हो ।
महंगी नियन्त्रणमा सरकारले देखाइरहेको उदासिनता, प्रेसमाथिको हस्तक्षेप, सर्बोच्च अदालतको अपमान र भ्रष्टचारबिरुद्ध प्रदर्शनसहितको रत्नपार्कस्थित शान्तिबाटिकामा विरोधसभा गर्न लागिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बताए । गत ७ गते सम्पन्न हेटौंडा भेलाबाट कम्युनिष्ट सरकार सर्बसत्ताबादतर्फ उन्मूख भएकाले प्रतिवादमा उत्रने निर्णय गरेलगत्तै कांग्रेसले तरुण–युवालाई पहिलो पटक सडक प्रदर्शनमा उतार्न लागेको हो ।
‘अन्तिम गन्तव्य रत्नपार्कलाई बनाएर काठमाडौं बाहिरबाट पनि तरुण युवा साथीहरु शान्तिपूर्ण बिरोध प्रदर्शनमा आउनुहुनेछ’, अध्यक्ष बस्नेतले भने,‘साथीहरु ठाउँ–ठाउँमा भेला भएर जसरी सहज हुन्छ त्यसैगरी रत्नपार्कमा केन्द्रीत हुनेगरी आउनुहुनेछ तर शान्तिपूर्ण प्रदर्शन भएकाले हामी सडक अबरोध भने गर्दैनौं ।’
तरुण दलले प्रदर्शनका लागि काठमाडौंको पूर्वी क्षेत्र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा र भक्तपुरका युवाहरुलाई कोटेश्वरमा, ललितपुरका तरुणहरुलाई लगनखेलहुँदै कुपण्डोलमा, नुवाकोट, धादिङ, रसुवा लगायतका तरुण युवाहरुलाई बालाजुमा भेला भएर रत्नपार्कमा आउन निर्देशन दिएको छ ।
अध्यक्ष बस्नेतले संगठन बिस्तार अन्तर्गत पहिलो चरणको शान्तिपूर्ण बिरोध प्रदर्शनको कार्यक्रम भएकाले आवाज सुनुवाई नभए प्रभावकारी तयारीका साथ दोस्रो चरणको बिरोधका कार्यक्रमहरु सार्बजनिक गरिने जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्