Presidential

८२ वर्षमा नेपालका १ सय ८७ राजदूत, यस्तो छ नालीबेली

विष्णु रिजाल

८२ वर्षमा नेपालका १ सय  ८७ राजदूत, यस्तो छ नालीबेली

नेपालमा ८२ वर्षको कुटनीतिक अभ्यासमा २ सय २३ पटक राजदूत नियुक्ति भएको छ । त्यसमा १ सय ३१ पटक राजनीतिक क्षेत्र र ९२ पटक कुटनीतिक सेवाका छन् । एकजनाले चार पटक, तीन जनाले तीनपटक र २७ जनाले दुई पटक राजदूत हुने मौका पाएकाले अहिलेसम्म राजदूत हुनेको संख्या चाहिँ १ सय ८७ मात्र छ । कुटनीतिक इतिहासमा दख्खल राख्ने पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराईका अनुसार, तीमध्ये राजनीतिक रुपमा नियुक्त हुनेको संख्या १ सय २० छ भने कुटनीतिक सेवाबाट ६७ जनाले मौका पाएका छन् । परराष्ट्र मन्त्रालयसँग यस सम्बन्धी जानकारी माग्दा उपलब्ध हुन सकेन ।

अहिले विदेशमा नेपालका ३० नियोग क्रियाशील छन् भने अस्ट्रियामा हालै एक थपिएको छ । इटालीमा दुईजना राजदूतले काम गरिसकेपछि दूताबास बन्द भएको थियो भने इरानमा कार्यबाहक राजदूत तहमा काम हुँदै गर्दा बन्द गर्ने निर्णय भएको थियो । नेपालमा चाहिँ इन्डोनेसिया, लिबिया, पूर्वी जर्मनी र पोल्यान्डका दूताबास बन्द भएका छन् भने स्वीट्जरल्यान्डले बीचमा बन्द गरेर पुनः खोलेको छ ।

एकजनाले चार पटक, तीन जनाले तीनपटक र २७ जनाले दुई पटक राजदूत हुने मौका पाएकाले अहिलेसम्म राजदूत हुनेको संख्या चाहिँ १ सय ८७ मात्र छ । कुटनीतिक इतिहासमा दख्खल राख्ने पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराईका अनुसार, तीमध्ये राजनीतिक रुपमा नियुक्त हुनेको संख्या १ सय २० छ भने कुटनीतिक सेवाबाट ६७ जनाले मौका पाएका छन् । परराष्ट्र मन्त्रालयसँग यस सम्बन्धी जानकारी माग्दा उपलब्ध हुन सकेन ।

 

पहिलो राजदूत बहादुर शम्शेर
नेपालले पहिलो पटक विक्रम सम्बत् १९९० चैत २४ गते (सन् १९३४ अप्रिल ६) मा बेलायतका लागि राजदूत नियुक्त गरेको थियो । तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्ध शम्शेरका पालामा उनका छोरा बहादुर शम्शेरलाई राजदूत बनाएर पठाइएको थियो । उनी तत्कालीन अवस्थामा परराष्ट्र मामिलाका डाइरेक्टर जनरल थिए, जसलाई अहिलेको अवस्थामा मन्त्री भन्न सकिन्छ ।

त्यसपछिका १३ वर्षसम्म नेपालको एउटा मात्र दूताबास लन्डनमा रह्यो । त्यस अवधिमा चन्द्र शम्शेरका तीन छोरा कृष्ण शम्शेर, सिंह शम्शेर र केशर शम्शेर राजदूत बनेर लन्डन पुगेका थिए ।

नेपालले खोलेको दोस्रो दूताबास दिल्लीमा थियो, जुन भारत स्वतन्त्र हुनासाथ सन् १९४७ मा खोलिएको थियो । बेलायतमा राजदूत रहिसकेका सिंह शम्शेरलाई भारतका लागि पहिलो राजदूत बनाएर पठाइएको थियो । नेपालमा प्रजातन्त्र आएपछि सन् १९५१ मा बबर शम्शेरलाई बनमन्त्रीबाट हटाएर त्यस ठाउँमा राख्नका लागि सिंह शम्शेरलाई भारतबाट फिर्ता बोलाएपछि तत्कालीन प्रधानमन्त्री मोहन शम्शेरले आफ्ना छोरा विजय शम्शेर (पशुपति शम्शेरका पिता) लाई भारतको दोस्रो राजदूत बनाएर पठाएका थिए । उनी पनि त्यतिबेला विदेश मामिला नै हेर्दथे ।
rajdutfinal2

सबभन्दा बढी को ?
सामान्यतः कुटनीतिक सेवामा कार्यरतबाट राजदूत नियुक्त गर्ने चलन बढी भए पनि नेपालमा चाहिँ सुरुदेखि नै राजनीतिक क्षेत्र हावी देखिन्छ । सार्कलगायतका देशमा दोहोरिएर राजदूत हुनेमा चाहिँ कुटनीतिक सेवाका लागि स्वाभाविक बढी मौका मिलेको पाइन्छ । परराष्ट्रको सहसचिव हुँदा एकपटक राजदूत भएकाहरु सचिव भएमा अर्को पटक स्वतः राजदूत पाउने परम्परा जस्तै भएका कारण त्यसरी दोहोरिने मौका मिलेको हो । छिमेकी मुलुकहरुमा चाहिँ परराष्ट्र सचिव भएकाहरु पाँच–छ पटकसम्म राजदूत भएको पाइन्छ । नेपालमा तीबाहेक पनि दोहोरिनेहरु नभएका होइनन् ।

सार्क मुलुकहरु मात्रै हेर्दा पनि राजनीतिक नियुक्ति अत्यन्त न्यून छ । राजनीतिक नियुक्ति हुँदा सरकार बदलिएसँगै राजदूत फेरिने भएका कारण अस्थिरता हुने खतरा नेपालले भोगिरहेको छ ।

नेपालमा सबभन्दा बढी (चारपटक) राजदूत हुने झरेन्द्रनारायण सिंह हुन् । भारतको कलकत्ताबाट स्नातक र अलाहावाद विश्वविद्यालयबाट कुटनीति र परराष्ट्र मामिलामा स्नातकोत्तर गरेर फर्किएपछि सुब्बाका रुपमा मुन्सीखाना (परराष्ट्र)मा प्रवेश गरेका बझाङको थलारा रजौटाका छोरा सिंहले त्यसपछि कहिल्यै पछि फर्केर हेर्नुपरेन । परराष्ट्र सेवामा प्रवेश गरी सचिव भएका उनी रुस, भारत, इजिप्ट र बेलायतका लागि राजदूत भएका थिए ।

तीन जना तीनपटक
तीनपटक राजदूत हुने तीनमध्ये दुईजना परारष्ट्र सचिव नै थिए । पदमबहादुर खत्री दुईपटक अमेरिका र एकपटक संयुक्त राष्ट्र«संघका लागि राजदूत भए भने सरदार यदुनाथ खनाल भारत, चीन र अमेरिकाका लागि राजदूत भए । कुटनीति सेवाबाहिरबाट डा. भेषबहादुर थापा दुईपटक अमेरिका र एकपटक भारतको राजदूत भए ।
rajdutfinal3

२७ जना दोहोरिए
दुईपटक राजदूत हुनेमा राजनीतिक क्षेत्रका ९ जना छन् भने कुटनीतिक सेवाका १८ जना छन् ।
कुटनीतिक सेवा बाहिरबाट त्यसरी मौका पाउनेमा सिंह शम्शेर (भारत र बेलायत), दमन शम्शेर (भारत र बेलायत), सरदार ईश्वरीराज मिश्र (पाकिस्तान र बेलायत), सरदार भीमबहादुर पाँडे (जर्मनी र भारत), ज्ञानेन्द्रबहादुर कार्की (रुस र बर्मा), बालचन्द्र शर्मा (रुस र फ्रान्स), डा. दुर्गेशमान सिंह (युरोपेली संघ र भारत), डा. सुरेशचन्द्र चालिसे (अमेरिका र बेलायत) र बलबहादुर कुँवर (पाकिस्तान र श्रीलंका) छन् ।

त्यसैगरी, १४ जना पराष्ट्रसचिवले दोहोरिएर राजदूत हुने मौका पाए । तिनमा भरतराज राजभण्डारी (जापान र बर्मा), जगदीश शम्शेर राणा (रुस र भारत), विश्व प्रधान (इजिप्ट र अमेरिका), नरेन्द्रविक्रम शाह (संयुक्त राष्ट्रसंघ र रुस), यादवकान्त सिलवाल (रुस र सार्क), केदारभक्त श्रेष्ठ (युरोपेली संघ र अमेरिका), कुमार ज्ञवाली (रुस र पाकिस्तान), मुरारीराज शर्मा (संयुक्त राष्ट्रसंघ र बेलायत), नारायण शम्शेर थापा (साउदी अरेबिया र युरोपेली संघ), मधुरमण आचार्य (बंगलादेश र संयुक्त राष्ट्रसंघ), ज्ञानचन्द्र आचार्य (जेनेभा र न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ), डा. मदनकुमार भट्टराई (जर्मनी र जापान), दुर्गाप्रसाद भट्टराई (श्रीलंका र संयुक्त राष्ट्रसंघ) र अर्जुनबहादुर थापा (युनाइटेड अरब इमिरेट्स र सार्क) छन् ।

अरु दोहोरिनेमा अतिरिक्त सचिव जयप्रताप राणा (अमेरिका र संयुक्त राष्ट्रसंघ), सहसचिवद्वय प्रकाशचन्द्र ठाकुर (जापान र इटाली) र शार्दूल शम्शेर राणा (फ्रान्स र बर्मा) तथा उपसचिव उपेन्द्रबहादुर बस्नेत (बेलायत र पाकिस्तान) छन् ।

प्रधानमन्त्री पनि राजदूत
मातृकाप्रसाद कोइराला २००७ सालपछि नेपालमा प्रधानमन्त्री हुने पहिलो जनताका छोरा हुन् । विक्रम सम्बत् २००८ सालमा श्री ३ मोहन शम्शेरपछि प्रधानमन्त्री भएका कोइराला राजनीतिमा जमिरहन सकेनन् । २०१७ सालमा राजा महेन्द्रले बहुदलमाथि प्रतिबन्ध लगाएर निर्दलीय व्यवस्था सुरु गरेपछि उनलाई प्रधानमन्त्रीले पाएसरहको तलबसुविधा पाउने गरी अमेरिकाका लागि राजदूत बनाएर पठाइयो । तर, कोइराला त्यहाँ लामो समय बसेनन्, दुई वर्षमै राजीनामा गरेर स्वदेश फर्किए ।

संवैधानिक पदपछि पनि राजदूत
प्रधानमन्त्री भइसकेका मातृकाप्रसाद कोइरालापछि उच्च संवैधानिक पदधारण गरेर राजदूत हुनेमा अनिरुद्रप्रसाद सिंहको नाम आउँछ । उनी इजिप्टका लागि राजदूत बनेका थिए । त्यस्तै सिंहलाई पछ्याउँदै अर्का प्रधानन्यायाधीश नयनबहादुर खत्री चीनका लागि राजदूत बनेका थिए ।

राष्ट्रिय पञ्चायतको अध्यक्ष भइसकेका रामहरि शर्मा राजदूत भएर जर्मनी गएका थिए भने राजसभा स्थायी समितिका सभापति बेदानन्द झा भारत गएका थिए । लोकसेवा आयोगको अध्यक्ष भइसकेपछि सरदार यदुनाथ खनाल राजदूतका रुपमा चीन पुगेका थिए ।

पराष्ट्रमन्त्री भएर राजदूत
परराष्ट्रमन्त्री भएर राजदूत हुन जानेमा महेन्द्रबहादुर पाण्डे (चीनका लागि प्रस्तावित) पहिलो हुने छैनन् । यसअघि उनी जस्तै चार जना परराष्ट्रमन्त्री भइसकेकाहरु राजदूत भएको पाइन्छ ।

त्यसरी जानेमा गेहेन्द्रबहादुर राजभण्डारी (बंगलादेश), कृष्णराज अर्याल (फ्रान्स), खड्गमान सिंह (पाकिस्तान) र ज्ञानेन्द्रबहादुर कार्की (रुस) छन् ।

अरु मन्त्री पनि छन्
परराष्ट्रमन्त्री बाहेक अरु नौ जना पूर्वमन्त्री पनि राजदूत भएर गएको पाइन्छ । त्यसरी जानेमा वाणिज्यमन्त्री भइसकेका महेन्द्रविक्रम शाह (भारत), सामान्य प्रशासनमन्त्री भइसकेका बेदानन्द झा (भारत), शिक्षामन्त्री भएका बालचन्द्र शर्मा (रुस र फ्रान्स), अर्थमन्त्री भएका डा. भेषबहादुर थापा (दुईपटक अमेरिका र एकपटक भारत), वाणिज्यमन्त्री भइसकेका रणधीर सुब्बा (चीन), खाद्यमन्त्री भएका लालबहादुर खडायत (रुस), गृहमन्त्री भएका योगप्रसाद उपाध्याय (अमेरिका), कानुनमन्त्री भएका निलाम्बर आचार्य (श्रीलंका), कानुनमन्त्री नै भएका बासुदेव ढुंगाना (अमेरिका) र पर्यटनमन्त्री भएका दीपकुमार उपाध्याय (भारत) छन् ।

परराष्ट्रमन्त्री भएर राजदूत हुन जानेमा महेन्द्रबहादुर पाण्डे (चीनका लागि प्रस्तावित) पहिलो हुने छैनन् । यसअघि उनी जस्तै चार जना परराष्ट्रमन्त्री भइसकेकाहरु राजदूत भएको पाइन्छ । त्यसरी जानेमा गेहेन्द्रबहादुर राजभण्डारी (बंगलादेश), कृष्णराज अर्याल (फ्रान्स), खड्गमान सिंह (पाकिस्तान) र ज्ञानेन्द्रबहादुर कार्की (रुस) छन् ।

 

राजदूतपछि पनि मन्त्री
राजदूतको कार्यकाल सकेर स्वदेश आइसकेपछि मन्त्री हुनेहरु पनि छन् । तीमध्ये चार जना परराष्ट्रमन्त्री नै बनेका छन् । ऋषिकेश शाह, पदमबहादुर खत्री, शैलेन्द्रकुमार उपाध्याय, नरेन्द्रविक्रम शाह र चक्रप्रसाद वास्तोला परराष्ट्रमन्त्री बनेका थिए । दामोदर शम्शेर र सिंह शम्शेरबाहेक डा. यादवप्रसाद पन्त र डा. बद्रीप्रसाद श्रेष्ठ दुबै अर्थमन्त्री बनेका थिए ।

मन्त्री बनेर राजदूत हुन गएका डा. भेषबहादुर थापा, रणधीर सुब्बा, कृष्णराज अर्याल र ज्ञानेन्द्रबहादुर कार्की फर्केर आएपछि पनि मन्त्री बनेका थिए ।

चार जनाले दिए राजीनामा
परराष्ट्रको इतिहासमा राजीनामा दिएर फिर्ता हुने राजदूतको संख्या चार छ । तीमध्ये तीनजनाले चाहिँ अमेरिकामा राजदूत रहेको बेला राजीनामा दिएका छन् । मातृकाप्रसाद कोइरालापछि यदुनाथ खनालले पनि त्यहीँबाट राजीनामा दिएका थिए । त्यसैगरी, डा. मोहनमान सैंजुले चाहिँ ०४६ मा राजनीतिक परिवर्तन भएको कारण देखाउँदै अमेरिकाबाटै राजीनामा दिएका थिए । ०४८ सालमा भारतको राजदूतमा नियुक्त भएका चक्रप्रसाद बाँस्तोलाले चाहिँ ०५१ को निर्वाचन लड्नका लागि राजीनामा दिएका थिए ।

महिलाको संख्या न्यून
नेपालमा पहिलो महिला राजदूत विन्देश्वरी शाह हुन् । अमेरिकाबाट पढेर आएकी उनले सुरुमा पुस्तकालयमा काम गर्दा तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्री वीपी कोइरालालाई पुस्तकालयको सदस्य हुनका लागि पत्र काटेर चर्चा कमाएकी थिइन् । पछि परराष्ट्र सेवामा प्रवेश गरेर अमेरिकामै काम गरेकी उनले बंगलादेश स्वतन्त्र हुनासाथ २०२८ पछि नियोग प्रमुखका रुपमा चार वर्ष काम गरेकी थिइन् । ०४५ सालमा परराष्ट्र«को सहसचिव हुँदा भारतका लागि राजदूत नियुक्त भएकी उतले उनले कार्यकाल पूरा गर्न पाइनन् । एक वर्ष बाँकी छँदै उनलाई ०४८ सालमा फिर्ता बोलाइयो ।

कांग्रेस नेतृ शैलजा आचार्य भारतका लागि राजदूत नियुक्त भए पनि विरामीका कारण जान पाइनन् । फ्रान्सका लागि प्रस्तावित पम्फा भुसाल आथितेय मुलुकले स्वीकृति (एग्रिमो) नदिएका कारण जान पाइनन् । त्यही बेलामा साहना प्रधानलाई रुसका लागि राजदूत बनाउने सिफारिश गरिएको थियो । तर, उनले अस्वीकार गरिन् र पछि परराष्ट्रमन्त्री बनिन् ।

०६३ सालमा स्वास्थ्य सेवामा कार्यरत गुणलक्ष्मी शर्मा (विश्वकर्मा) म्यान्मारका लागि राजदूत बनिन् भने ०६९ सालमा कृषिमा कार्यरत डा. मायाकुमारी शर्मा कतारमा राजदूत बनिन् । तर, शर्मालाई सम्बन्धित देशले नै गलत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका कारण एक वर्षपछि नै फिर्ता बोलाइयो । परराष्ट्रबाट राजदूत हुने दोस्रो महिलाका रुपमा अम्बिका लुइँटेल फ्रान्स पुगिन् ।

फिर्ता बोलाइनेको संख्या धेरै
पञ्चायती व्यवस्थामा जम्मा तीन जना राजदूत फिर्ता भएको पाइन्छ, त्यो पनि विशेष कारणले । २०१२ सालमा भारतबाट महेन्द्रविक्रम शाहलाई फिर्ता बोलाउनुको पछाडि भारतले दिँदै आएको बाणिज्यको कोटासम्बन्धी विवादले काम गरेको थियो । तर, तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासँग निकट मानिने शाहलाई उनी पदबाट हटेपछि त्यही कारणले फिर्ता बोलाएको भनिन्छ ।

०४४ सालमा अमेरिकाबाट विश्व प्रधान दुईवटा मेडिकलसम्बन्धी पुस्तक चोरेको अभियोग लागेपछि फिर्ता बोलाइएका थिए ।
त्यसैगरी, जापानमा प्रकाशचन्द्र ठाकुरका छोरा गलत काममा लागेको सूचना आएपछि उनलाई भविष्यमा सरकारी नोकरीका लागि अयोग्य हुने गरी फिर्ता बोलाइएको थियो ।

बहुदलीय व्यवस्था आएपछि चाहिँ राजनीतिक नियुक्तिको बाहुल्यका कारण संस्थानको महाप्रबन्धक हटाए जस्तै राजदूत हटाउने क्रम चलिरहेको छ । अर्को पार्टीको सरकार बनेपछि राजदूत फिर्ता बोलाउने त चलनै भइसक्यो, आफ्नै पार्टीमा पनि गुट नमिल्दा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले योगप्रसाद उपाध्यायलाई अमेरिकाबाट फिर्ता बोलाएर यसको सुरुआत गरेका थिए । आफूलाई स्वागत गर्न न्युयोर्क आउनुको साटो त्यतिबेला वाशिंगटनमै रहेका आफ्नै पार्टीका सभापति कृष्णप्रसाद भट्टराईलाई स्वागत गर्न बसेको अभियोगमा उनलाई फिर्ता बोलाइएको थियो ।

त्यसअघि चक्रप्रसाद बाँस्तोलालाई राजदूत बनाउन कोइरालाले नै नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहलाई ०४८ मा भारतबाट फिर्ता बोलाएका थिए ।

०५१ मा एमालको सरकार बनेपछि त्यसअघि नियुक्त राजदूत फिर्ता बोलाइए भने त्यस सरकारले नियुक्त गरेका राजदूतहरु पनि सरकार ढल्नासाथ फिर्ता बोलाइए ।
rajdutfinal1

बाबु–छोरा राजदूत
एकैघरबाट राजदूत हुनेहरुको संख्या उल्लेख्य छ । त्यसमा पनि बाबु–छोरा नै राजदूत भएका दुई घटना पाइन्छन् । ०१८ सालमा अमेरिकाको राजदूत भएका मातृकाप्रसाद कोइरालाका छोरा कमल कोइराला ०६३ सालमा दक्षिण कोरियाको राजदूत भए । त्यसैगरी, बेलायतमा राजदूत भएका किरण शम्शेरका छोरा प्रबल शम्शेर पनि राजदूत भएर त्यहीँ पुगे ।

दाजुभाइको संख्या धेरै
राणकालमा राजदूत भएर जानेमा धेरै जसो परिवारका सदस्य नै थिए । चन्द्र शम्शेरका चार छोरा– केशर शम्शेर, सिंह शम्शेर, कृष्ण शम्शेर र शंकर शम्शेर राजदूत भएका थिए भने जृद्ध शम्शेरका दुई छोरा– बहादुर शम्शेर र किरण शम्शेर राजदूत भएका थिए ।
दुई भाइ राजदूत हुनेमा वीर शम्शेरका पनाति सत्चित शम्शेर र दामोदर शम्शेर पनि छन् । त्यसैगरी, सहोदर दाजुभाइ उद्धवदेव भट्ट र डा. दिव्यदेव भट्ट पनि राजदूत भए । राजदूत हुनेहरुमा नारायण शम्शेर थापा र नरप्रताप शम्शेर थापा दाजुभाइका छोरा थिए भने ऋषिकेश शाह र रामचन्द्रबहादुर सिंह दिदीबहिनीका छोरा थिए ।

ससुरा–ज्वाइँ र जेठान–ज्वाइँ
राजदूत हुनेहरुको नाता केलाउँदा परिवारका सदस्यहरुको लामै सूची भेटिन्छ । मातृकाप्रसाद कोइराला र उनका बहिनी ज्वाइँ कालीप्रसाद उपाध्याय, दीपकुमार उपाध्याय र उनका बहिनी ज्वाइँ मधुरमण आचार्य अनि ऋषिकेश शाह र उनका बहिनी ज्वाइँ बासुदेवचन्द्र मल्ल राजदूत भएका थिए ।

त्यस्तै ससुरा–ज्वाइँ राजदूत हुनेमा रामहरि शर्मा र केदारप्रसाद कोइराला, किरण शम्शेर राणा र भरतकेशर सिंह, सिंह शम्शेर राणा र झरेन्द्रनारायण सिंह, यदुनाथ खनाल र कुमारप्रसाद ज्ञवाली तथा डा. त्रैलोक्यनाथ उप्रेती र प्रदीप खतिवडा छन् ।
अर्जुननरसिंह राणा र नारायण शम्शेर थापाबीच भिना–सालाको नाता थियो भने ऋषिकेष शाह र विन्दा शाह जेठाजु–बुहारी हुन् । त्यसैगरी, मोहनप्रसाद लोहनी र शम्भुराम सिम्खडा नातामा साढु पर्छन् ।

ससुरा–ज्वाइँ राजदूत हुनेमा रामहरि शर्मा र केदारप्रसाद कोइराला, किरण शम्शेर राणा र भरतकेशर सिंह, सिंह शम्शेर राणा र झरेन्द्रनारायण सिंह, यदुनाथ खनाल र कुमारप्रसाद ज्ञवाली तथा डा. त्रैलोक्यनाथ उप्रेती र प्रदीप खतिवडा छन् ।

 

सेना प्रमुख हुन्थे राजदूत
पछिल्लो समयमा सैनिक पृष्ठभूमिबाट आएकाहरुलाई कम महत्व दिइएको गुनासो छ । पहिला चाहिँ प्रधानसेनापति भएकाहरुले प्रायः मौका पाएको देखिन्छ । तिनमा केशर शम्शेर, किरण शम्शेर, गुण शम्शेर, सत्चित शम्शेर, सिंहप्रताप शाह, अर्जुननरसिंह राणा, सिंहबहादुर बस्नेत र प्रज्वल्ल शम्शेर राणा छन् । यीमध्ये केही सैनिक सहचारी पनि भइसकेका थिए ।

सेना प्रमुख नभए पनि राजदूत हुने जनरलहरुमा भरतकेशर सिंह, ताराबहादुर थापा र भिक्ट्री शम्शेर जबराको नाम आउँछ ।

प्रहरीबाट तीनजना
नेपाल प्रहरीका दुईजना आइजी र गुप्तचर प्रहरीका एकजना प्रमुखले राजदूत हुने मौका पाएका थिए । प्रहरीतर्फबाट जीबी भनेर चिनिने ज्ञानबहादुर याक्थुम्बा र खड्गजीत बराल राजदूत भएका थिए भने गुप्तचरका प्रमुख हर्कबहादुर थापा राजदूत बनेका थिए ।

मुख्यसचिवबाट धेरै
उपयुक्तता भन्दा पनि मुख्यसचिव भइसकेकाहरुलाई राजदूत दिने चलन जस्तै देखिन्छ । मुख्यसचिवमध्ये कृष्ण वम मल्ल (भारत), कर्णध्वज अधिकारी (भारत), क्षेत्रविक्रम राणा (चीन), कुलशेखर शर्मा (अमेरिका), दामोदर गौतम (अमेरिका), लोकबहादुर श्रेष्ठ (बंगलादेश), बलरामसिंह मल्ल (जर्मनी), कृष्णबहादुर मानन्धर (इजिप्ट), भोगेन्द्रनाथ रिमाल (इजिप्ट) र भोजराज घिमिरे (क्यानाडा) राजदूत भए । प्रद्युम्नलाल राजभण्डारी चाहिँ राजदूत भएर फर्किएपछि मुख्य सचिव बनेका थिए ।

दरबारमा हुने शक्ति संघर्षका कारण राजदूत बनाएर देशबाहिर पठाउने चलन थियो । सचिवहरुबीच हुने खिचातानीकै कारण प्रमुख सचिव ईश्वरीमान श्रेष्ठलाई राजदूत बनाएर जर्मनी पठाइएको थियो, जहाँ उनलाई चार वर्षे कार्यकाल सकिएपछि तीन वर्ष थप राखियो । नरेन्द्रराज पाण्डे चीन जानुमा पनि त्यही कारणले काम गरेको मानिन्छ ।
सबभन्दा लामो समय लगातार राजदूत हुनेमा रणधीर सुब्बाको नाम आउँछ, जो नौ वर्ष चीन बसे ।

त्रिवि र योजना आयोगलाई पनि प्राथमिकता
राजदूत हुनेहरुमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिहरुलाई पनि महत्व दिइएको देखिन्छ । उपकुलपतिबाट राजदूत हुनेहरुमा डा. त्रैलोक्यनाथ उप्रेती, रणधीर सुब्बा, रामचन्द्रबहादुर सिंह, वासुदेवचन्द्र मल्ल, केदारभक्त माथेमा र नवीनप्रकाशजंग शाह छन् ।
यसैगरी, योजना आयोगको उपाध्यक्ष भएर राजदूत हुनेहरुमा शैलेन्द्रकुमार उपाध्याय, डा. बद्रीप्रसाद श्रेष्ठ, डा. मोहनमान सै‌जु, डा. भारतप्रसाद धिताल र डा. शंकर शर्मा छन् ।

(माथि प्रयोग गरिएका तस्वीरमध्ये नेपालका पहिला राजदूत बहादुर शम्शेरको तस्वीर पुरुषोत्तम शम्शेर राणाद्वारा लिखित ‘श्री ३ हरुको तथ्य बृत्तान्त’ (भाग २) पुस्तकबाट र बाँकी तस्वीरहरु इन्टरनेटबाट लिइएको हो ।)
हेर्नुहोस्, हालसम्म राजदूत भएकाहरुको पूर्ण नामावली

Namelist of ambassador

    
        Loading...

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

    
        Loading...     
    

अन्तरवार्ता

समाचार